अपवित्र रैछ यो मन फेरि पनि धुन्न नानु
गाह्रो रैछ पवित्र मन भाको मान्छे चुन्न नानु
बोली पनि अपवित्र लाग्छ क्यारे तिमीलाई मेरो
तिम्रै निम्ति गाएँ गजल एक्कै पल्ट सुन्न नानु
बैनी सम्झी तिमीलाई माया गर्नु पाप भयो
पुण्य हुन्थ्यो होला शायद मायाजाल बुन्न नानु
माया गरी टाउकोमा छुँदा पनि रिसायौ रे
माया गरी पिट्दा पनि कोही बैनी रुन्न नानु
गंगा जल रैछौ तिमी गन्हाउने म ढलको पानी
मिसिदैमा ढलमा गंगा अपवित्र हुन्न नानु
मैले छुँदा अपवित्र भयौ भने माफ गर
तिमीलाई मात्र होइन तिम्रो छाँया पनि छुन्न नानु
मसँग रिसाए नि खुशी भै बस्नु तिमी
दादा भन मलाई भनी भीक माग्न आउन्न नानु
No comments:
Post a Comment